Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


‘सायद–२’लाई पहिलो दिन दर्शकको वाहवाही


0
Shares

दर्शकहरुको प्रत्यक्ष प्रतिक्रिया लिन निर्माता सुनिल रावल आफ्नो फिल्मको टिम कलाकार सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ र अमृत ढुंगानासँगै शुक्रबार राजधानीका विभिन्न हलमा पुग्दा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् ।

‘प्रारम्भिक प्रतिक्रियाले हामी उत्साही छौं’–फिल्मका निर्मातामध्येका एक सुनिल रावलले उत्साहित हुँदै भने–‘फिल्मको प्रस्तुतीकरण र यसको कथालाई दर्शकले रुचाएका छन् । मेरै पछिल्लो फिल्मको तुलनामा ‘सायद–२’को प्रतिक्रियाले उत्साही बनाएको छ ।’

कलाकार सुशीलले पनि दर्शकले दिएको प्रतिक्रिया सुनेर दंग परेको बताए । उनी भन्छन्–‘तेस्रो फिल्मसम्म आइपुग्दा मैले धेरै कुरा सिक्दैछु, जसलाई दर्शकले रुचाउँदै गएकाले खुसी लागेकोे छ ।’

दर्शकसँगै फिल्म हेरेपछि अर्का नवकलाकार स्यारोनले पनि उत्साहित भएको बताइन् । उनले भनिन्–‘पहिलो फिल्म भएकोले निकै डर लागिरहेको थियो तर अब खुसी छु ।’

शुक्रबार बिहानी शोमा टिमसँगै राजधानीस्थित बिग मुभिजमा फिल्म हेर्न पुगेका पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले फिल्म राम्रो लागेरै दुई घन्टासम्म हलमा बसेको बताए । उनले भने–‘नत्र त बीचमै निस्किने थिएँ ।’

प्रेम प्राप्तिको लागि गरिने संघर्षलाई रमाइलो तरिकाले प्रस्तुत् गरिएको ‘सायद–२’मा मित्रतामा मायाले निम्त्याउने अवस्थालाई फिल्ममा देखाइएको छ ।

‘सायद–२’मा सुनिलसँगै ईश्वर श्रेष्ठ, शुभाष लामिछानको लगानी रहेको छ । पुष्पराज न्यौपानेले निर्देशन गरेका फिल्मलाई राजुविक्रम थापाले छायाँकन गरेका हुन् ।

यसअघि नै हङकङ र जापानमा ‘सायद–२’को ‘प्रिमियर शो’ गरिएको थियो ।