Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपाभित्र विवाद झन् गहिरियो, यस्तो छ दुईथरी मत (भिडियोसहित)


0
Shares

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवाद टुंग्याउन भन्दै तीन दिनसम्म राजधानीमा बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएपछि राजपा चुनावमा जाने/नजानेमात्रै होइन, सिंगो पार्टीकै भविश्यमाथि प्रश्नसमेत उठन थालेको छ ।

बैठकले निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर, निर्वाचनकै विषयलाई लिएर बैठकपछि पनि पार्टीभित्र झन् विवाद बढेको छ ।

संविधान संशोधन नभइ निर्वाचनमा जानै नहुने एकथरी धारणा र संशोधन नभएपनि निर्वाचनमा जानुपर्ने अर्कोथरी धारणाले बैठक निर्णयविहीन बन्न पुग्यो ।

संविधान संशोधन नभएको अवस्थामा त्यही एजेन्डालाई लिएर निर्वाचनमा जानुपर्ने धारणा राख्ने केन्द्रीय सदस्यहरुले सरकारले पूरा गर्नसक्ने मागहरुका लागि दबाब दिनुपर्ने मत राखे ।

निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेपनि बैठकले आफ्ना माग पूरा गर्न सरकारलाई ७ दिनको समयसीमा दिएको छ ।

समयसिमाभित्र माग पूरा नभए निर्वाचन बहिस्कारको निर्णयलाई यथावत् राखिने एक पक्षको भनाइ छ ।

तर, पार्टीभित्रकै अर्को पक्षले चुनावमा जाने र नजाने गरी दुईओटा धारणा आएपनि चुनाव बहिस्कार गर्ने निर्णय नभएको जिकिर गरेको छ ।

माग पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएपनि माग पूरा नभए के गर्ने भन्ने विषयमा स्वयं राजपा स्पस्ट छैन ।

तत्कालै संविधान संशोधन गर्ने अंकगणित नभएको भन्दै स्थानीय तहको संख्या वृद्धि, सहिद घोषणा, घाइतेहरुको उपचार र बन्दी रिहालगायतका मागहरु पूरा गरेर चुनावमा जानुपर्ने मत पनि राजपाभित्र बलियो छ ।

केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेपछि चुनावमा जाने वा नजाने विषयमा निर्णय गर्ने जिम्मा अध्यक्षमन्डललाई दिइएको छ । तर, अध्यक्षमन्डल पनि यो विषयमा विभाजित छ ।

भिडियो हेर्नुहोस्

Skip This