
निर्वाचनले प्रजातन्त्र र स्थायित्वलाई सुदृढ गर्ने आशा पनि उनले व्यक्त गरे ।
बिहीबार भारतको राजधानी नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता सकिएलगत्तै गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले सो प्रतिक्रिया दिएका हुन् ।
भारतले नेपालको आर्थिक समृद्धि र विकास चाहेको बताउँदै उनले सफलताका साथ संविधान लागू गर्न शुभकामना दिए ।
दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन प्रधानमन्त्री देउवासँग विशेष छलफल भएको भन्दै मोदीले हिमालयजत्तिकै पुरानो मित्र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने वचन दिए ।
प्रधानमन्त्री देउवाले आफूलाई अरुण–३ जलविद्युत् आयोजनाको शिलान्यासका लागि निम्ता दिएकोमा उनले आभार पनि प्रकट गरे ।
नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिबद्धता पनि मोदीले जनाए ।
मोदीले भारत र नेपालको सुरक्षा हित एक–अर्कामा निर्भर रहेको भन्दै रक्षा र सुरक्षा एजेन्सीबीचको सहकार्य थप आवश्यक रहेको उल्लेख गरे ।
नेपालमा भारतीय सहयोगबाट चलिरहेका हुलाकी सडक, ट्रान्समिसनलाइन र एकीकृत जाँचचौकीमा काम भइरहेकोमा उनले खुसी व्यक्त गरे ।
भारतको अनुदान सहायताअन्तर्गत् धनगढीमा टेक्निकल इन्स्िटच्यूट तथा जीपी कोइराला नेसनल सेन्टर फर रेस्पिरेटरी डिजिजको स्थापनाका लागि सैद्धान्तिक सहमति भएको जानकारी उनले दिए ।
बृहत्तर कनेक्टिभिटीका लागि बौद्ध र रामायण पर्यटन सर्किट विकास गरेर सीप विकास र क्षमता अभिवृद्धिका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नु आवश्यक रहेको मोदीले औंल्याए ।
मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले संविधान संशोधनमार्फत् संविधानलाई सर्वस्वीकार्य बनाउन खोजे पनि संसदमा दुई तिहाइ बहुमत नपुग्दा संशोधन हुन नसकेको उल्लेख गरे ।
उनले भविष्यमा सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन हुनेमा आशावादी रहेको पनि उल्लेख गरे ।
देउवाले संविधान संशोधन नभएपनि असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितका दल निर्वाचनमा जाने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले कटैया–कुशवाहा र रक्सौल–परवानीपुर विद्युत प्रसारणलाइन विस्तार गरेकामा मोदी सरकारलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्