Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्रीको भ्रमण सफल : साउद, विवादास्पद अभिव्यक्ति दिए : पोखरेल


0
Shares

सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भएको बताएका छन् भने प्रतिपक्षी दलका नेताहरुले भारतमा गएर नेपालको आन्तरिक विषयमा बोलेको भन्दै आपत्ति जनाएका छन् ।

रिपोर्टर्स् क्लब नेपालमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एनपी साउदले प्रधानमन्त्री देउवाको भारत भ्रमण ऐतिहासिकरुपमा सफल भएको विचार व्यक्त गरे ।

उनले भारतले नेपालको प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्व दिएको तथा उनलाई गरिएको आतिथ्य र सत्कारबाट पनि उक्त भ्रमण कस्तो रह्यो भन्ने स्पस्ट भएको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणको बेला भारतसँग विभिन्न ८ महत्वपूर्ण विषयमा सम्झौता भएको र यसले देशको आर्थिक हितलाई राम्रो प्रभाव पर्ने बताए ।

नेता साउदले प्रधानमन्त्रीले भारतसहित कुनैपनि मुलुकमा गएर देशको राष्ट्रिय मुद्दालाई स्पस्टरुपमा कुरा राख्न पाउने र यसलाई अन्यथा लिन नहुने चर्चा गरे ।

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलालाई भारतमा लगेर सार्वजनिक गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्रीले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको र गौतमबुद्ध तथा बुद्धभूमिकोबारेमा पनि विवादास्पद अभिव्यक्ति दिएको उल्लेख गरे ।

अर्को एक प्रसंगमा एमालेले प्रदेश नम्बर–२ मा कुनै पार्टीसँग तालमेल नगर्ने र चुनावमा पहिलो पार्टी हुने दाबी गरे ।

नेकपा माओवादी केन्द्र्रका नेता देवेन्द्र पौडेलले नेपालका केही राजनीतिक दलमा छिमेकीमुलुक भारतको विरोध गरेर राष्ट्रवादी भइन्छ भन्ने प्रवृत्ति बढेको बताए ।

उनले भारत र चीनसँग नयाँ शिरामा सम्बन्धको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

अर्को प्रसंगमा उनले प्रदेश नम्बर–२ मा असोज २ गते हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी संघीय समाजवादी फोरम र राजपासँग तालमेल गर्ने पक्षमा रहेको जानकारी दिए । रासस

Skip This