मूख्य दलहरु उम्मेद्वार छनोटमा लागेका छन् भने प्रचारप्रसारलाई पनि तिव्रता दिइएको छ ।
त्यसो त प्रमुख दलहरु यतिबेला तराईको उखरमाउलो गर्मीको पनि पर्वाह नगरी चुनावी प्रचारप्रसारमा होमिएका छन् ।
मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय र लोकतान्त्रिक फोरमलगायत दलहरु चुनावी प्रतिस्पर्धामा छन् ।
उनीहरुले संविधान संशोधन, तराईमा गएको बाढीपहिरो, राहत, उद्धार र तराईका जनताको अधिकारको बिषयलाई केन्द्रमा राखेका छन् ।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले संविधानको असन्तुष्टिलाई सम्बोधन गर्दै अरु पार्टीले उपयोग गर्दै आएको मधेशलाई सम्मानित गर्ने मूख्य एजेण्डा भएको बताउँछन् ।
यता एमाले पनि आफूलाई मधेश बिरोधी भन्ने अरु दलको आरोप चुनावबाटै खण्डन गराउने सुरमा छ ।
एमालेका नेता प्रदिप ज्ञवालीले मधेशको समृद्धि, आर्थिक बिकास, सामाजिक सद्भाव र रोजगारीलाई मुख्य नारा बनाएर एमाले मधेस छिरेको बताए ।
मधेशी जनताको हितमा समर्पित भएको बताउने राष्ट्रिय जनता पार्टीले पनि मधेशमा आफ्नो पकड बलियो भएको दावी गरेको छ ।
राजपाका नेता लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले मधेशको मुद्दालाई ओझेलमा राखेर सम्पूर्ण मधेशको हत्या गरेकाले यसलाई प्रमुखताकासाथ उठाउने बताउँछन् ।
असोज २ गते हुने प्रदेश नम्बर–२ को चुनाव आउन अब तीन साता मात्र बाँकी रहँदा कांग्रेसले धनुषा र पर्साबाहेक अरु जिल्लाको उम्मेद्वार तय गरेको जनाएको छ ।
एमालेले केही ठाउँमा मात्रै उम्मेद्वार टुंगो लगाउन बाँकी रहेको जनाउदै उम्मेद्वारको टुंगो लागेसंगै सिंगो नेतृत्व नै प्रदेश नम्बर–२ मा परिचालन गर्ने रणनीति बनाएको छ ।
यता माओवादी केन्द्रले माओवादीको सचिवालय नै परिचालित गरेर तीन दिनभित्र सबै उम्मेद्वारको नाम टुंग्याउने भएको छ ।
राजपालाई पनि उम्मेद्वार छान्न उत्तिकै सकस परेको छ । आन्दोलनबाटै मधेशको अधिकार लिन चाहेको तर, सम्भव नभएको भन्दै चुनावमा होमिनु बाध्यता भएको राजपा नेता कर्ण बताउँछन् ।
जसले गर्दा पार्टीले मधेशमा चुनावी माहोल बनाउन नसकेको उनको भनाइ छ ।
सबै दलको दौड र दावी आफ्नो पार्टी पहिलो हुने भन्ने छ । तराईलाई सबै दलले सत्तामा पुग्ने भ¥याङका रुपमा उपयोग गर्दै आएको तर, मधेशकालागि कसैले केही नगरेकाले आफ्नै पार्टीले भूमिका खेल्ने जिकीर सबैको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय र लोकतान्त्रिक फोरमलगायतले प्रदेश नम्बर–२ को चुनावलाई आफ्नो प्रतिष्ठा बनाएका छन् ।
पार्टीका आ–आफ्नै रणनीति र जित्ने दावी छन् । प्रदेश २ मा कांग्रेस, एमाले वा अरु कसले बाजी मार्ला अहिले नै आंकलन गर्ने समय चाहि भई सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्