२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


अमरराज ‘जनसंगीत स्रष्टा’बाट सम्मानित


0
Shares

काठमाडौं, पुस २७ । प्रगतिशील संगीतको माध्यमबाट देशको राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका स्रष्टा अमरराज शर्मा राजोपाध्यायलाई जनसंगीत स्रष्टा उपाधिसहित नागरिक अभिनन्दन गरिएको छ ।

गीत लेखन, संगीत सिर्जना, गायन तथा नाट्य विधामासमेत योगदान पुर्‍याउँदै आएका अमरराजलाई नागरिक सम्मानको व्यवस्थापनका लागि सम्मान समारोह समिति नै गठन गरिएको थियो ।

अमरराजकै सिर्जना र गायनको एकल साँझ सांगीतिक प्रस्तुतिबीच आयोजित सम्मान कार्यक्रममा समितिका सहसंयोजक आकाश राजोपाध्यायले खादा ओढाएका थिए भने संयोजक बिराजकाजी राजोपाध्यायले दोसल्ला ओढाए ।

जनकवि दुर्गालाल श्रेष्ठले सम्मानपत्र प्रदान गरेको उक्त कार्यक्रममा दुई लाख ५० हजार रुपैयाँ राशिको चेक महर्जन कम्प्लेक्स, महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले हस्तान्तरण गरे ।

सम्मानित अमरराजले सम्मानले आफूलाई नयाँ स्तरीय सिर्जनाका लागि थप ऊर्जाशील बनाएको बताए ।

जनकवि दुर्गालाल श्रेष्ठले अमरराज ‘अमर गायक’ रहेको उल्लेख गर्दै प्रतिभाको सम्मान गर्ने जाति, समाज र राष्ट्रको कहिल्यै मृत्यु नहुने बताए ।

समितिका संयोजक बिराजकाजीले देशका सम्पत्ति कलाकारहरुको राष्ट्रले उचित संरक्षण नगरेको बताए ।

कार्यक्रममा अमरराजका दुईओटा गीतिसंग्रह सीडी पनि लोकार्पण गरिएको थियो । लोकर्पण भएको एल्बम ‘अजर अमर भाग १’ मा अमरराजको एकल स्वर रहेको छ भने ‘अजर अमर भाग २’ मा एकल संगीत रहेको छ ।

कार्यक्रममा शर्माको चित्रअंकित टीसर्ट पनि सार्वजनिक गरिएको थियो ।

निकट भविष्यमै अमरराजकाबारेमा लेखिएको पुस्तकको घोषणा गर्दै उक्त पुस्तकको आवरण सार्वजनिक गरिएको थियो ।

विभिन्न संघ–संस्था साथै व्यक्तिबाटसमेत कार्यक्रममा अमरराजलाई सम्मान गरिएको थियो ।

अमरराजले विभिन्न लोक, आधुनिक गीतहरुसमेत प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रगतिशील गीतमा भने गायकहरु वदन शर्मा राजोपाध्याय र शैलेस प्रधानले साथ दिएका थिए ।

कार्यक्रममा गायक धनबहादुर गोपाली, सानुबाबु महर्जन, पवित्र कसाः, सुरजबीर बज्राचार्य, दीपा महर्जन, सुरज व्यन्जनकार, भूपेन्द्र बज्राचार्य, अन्जन श्रेष्ठ, पंकज राजोपाध्यायले अमरराजको संगीत रहेका लोकप्रिय गीतहरु गाएका थिए ।