२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


मनराजा नकर्मीको एकल साँझ हुने


0
Shares

काठमाडौं, पुस २७ । नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील वरिष्ठ संगीतकार मनराजा नकर्मीको एकल साँझ आयोजना हुने भएको छ ।

आगामी माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘संगीतकार मनराजा नकर्मी एकल साँझ’ हुन लागेको हो ।

कार्यक्रममा दिनेशराज रेग्मीको संयोजकत्वमा २१ जना वाद्यवादकहरुका साथमा प्रस्तुति रहने जनाइएको छ ।

दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा. रामविक्रम सिँजापति, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका रचनाहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भूराज शाक्य, निशा देसार, टीका प्रसाइँ, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरीता शाही, मेनुका पौडेल, प्रकाश तिमल्सिनाको आवाजमा गुन्जिनेछन् ।

साथमा संगीतकार नकर्मीका चर्चित गीतहरुमा कलाकारहरुबाट नृत्य प्रस्तुत् हुनेछ । जसमा संगीतकार नकर्मीकी पुत्री नायिका आशिष्मा नकर्मीको नृत्य प्रस्तुति पनि रहनेछ ।

संगीतकार नकर्मीले हालसम्म नेपाली भाषाका १३ ओटा गीतिसंग्रह, नेपालभाषाका ९, तीनओटा धूनसंग्रह, ८ ओटा चलचित्रमा संगीत दिइसकेका छन् ।

तबलावादनका ‘गोल्ड मेडलिस्ट’ नकर्मी संगीत महर्षी नातिकाजी सम्मान २०७५ लगायत थुप्रै पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् ।

हाल रेडियो नेपालमा मुख्य संगीत संयोजककारुपमा सेवारत् नकर्मीको यो सेवा अवधि नै तीन दशक पार भइसकेको छ ।