२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एकदिवसीय र टी–२० सिरिजका लागि बन्द प्रशिक्षण सुरु


0
Shares

काठमाडौं, पुस २५ । संयुक्त अरब इमिरेट्स (युएई)सँग एकदिवसीय र टी–ट्वेन्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् ।

बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।

त्यसैगरी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् ।

बुधबार पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीलेमात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले राससलाई जानकारी दिए ।

उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए ।

कप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरी भने अष्ट्रेलियामा छन् ।

केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ ।

युएईमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ ।

युएईसँगको पहिलो एकदिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ ।

यस्तै, टी–२० तर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ ।

नेपालले गत वर्ष जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । रासस