२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


फिल्ममा नायकले आफ्नो मोबाइल नम्बर प्रयोग गरेको भन्दै रिक्सा चालकद्वारा मुद्दा


0
Shares

                                                                           अभिनेता शाकिब खान

बंगलादेशका अभिनेता शाकिब खानले एउटा फिल्ममा प्रयोग गरेको मोबाइल नम्बर रिक्सा चालक इजाजुल मियाँको हो । फिल्ममा उक्त मोबाइल नम्बर सार्वजनिक भएपछि कयौं युवतीले उक्त नम्बर नायक शाकिब कै रहेको ठानेर फोन गर्ने गरेको रिक्सा चालक इजाजुलको भनाइ छ ।

‘फिल्ममा मेरो मोबाइल नम्बर प्रयोग गरिएपछि मलाई सारै तनाव भएको छ, दिनहुँ अनावश्यक फोन आइरहन्छ,’ उनले भने ।

इजाजुलले नायक शाकिबसँग क्षतिपूर्ति रकमको मागसमेत गरेका छन् । उनका अनुसार पाँच दिनभित्र पाँच सयभन्दा बढीले फोन गरेका छन् ।

रिक्सा चालक इजाजुलको मोबाइल नम्बर गत जुनमा प्रदर्शित एक चलचित्र प्रयोग गरिएको थियो । सो चलचित्रका निर्माता तथा निर्देशक नायक शाकिब स्वयं हुन् । फिल्मको एउटा दृष्यमा नायकले आफ्नी प्रेमिकालाई आफ्नो मोबाइल नम्बर भन्दै एउटा नम्बर भन्छन् । त्यो नम्बर संयोगवस रिक्सा चालक इजाजुलको हो ।

‘मलाई दैनिक फोन आउन थाल्यो, अधिकांश कल नायक शाकिबका महिला प्रशंसकको आउने गरेको छ,’ उनले भने, ‘म तपाईको फ्यान हुँ, म तपाईसँग दुई मिनेट कुरा गर्न सक्छु ? भनेर फोन गर्छन्,’ उनले भने ।

इजाजुलका अनुसार उनी आफ्नो मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्दैनन् । किनकि उनका ग्राहकले समेत सोही नम्बरमा फोन गर्दै आएका छन् ।

सुरुमा अदालतले मुद्दा दायर गर्न समेत मानेको थिएन । तर जब इजाजुलको समस्याबारे राम्ररी अवगत गराइयो, अदालतले मुद्दा दायर गरेको छ । (एजेन्सी)