
सरोकारवाला निकायबीच मत बाझिँदा दरबार हाइस्कुल पुनःनिर्माणमा अन्योलता देखिएको हो ।
वि.सं. १९१० सालमा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले स्थापना गरेको मुलुककै पहिलो विद्यालय दरबार हाइस्कुल १९४८ सालमा रानीपोखरीनजिक रहेको अहिलेको भवनमा सरेको थियो ।
२०७२ सालको भूकम्पले दरबार हाइस्कुल भवनमा धेरै क्षति पुगेको थियो । भोटाहिटीतर्फको भित्ता भत्किएको थियो भने अन्य भागमा पनि क्षति पुगेको थियो ।
भूकम्प गएको तीन वर्ष पुग्न लाग्दासमेत सरकारी स्तरबाट दरबार हाइस्कुल पुनःनिर्माणको पहल भएको छैन । तर, चीन सरकारले चिनियाँ डिजाइनअनुसार स्कुल पुनःनिर्माणको प्रस्ताव गरेको छ ।
पुरातात्विक महत्वको विद्यालयलाई चिनियाँ मोडलअनुसार बनाउन भने पुरातत्व विभागले असन्तुष्टि जनाएको छ ।
चीन सरकारले प्रस्ताव गरेको संरचना सच्याएरमात्र पुनःनिर्माण गर्नुपर्ने पुरातत्व विभागको भनाइ छ ।
चीनको इच्छाअनुसार नेपालको सम्पदा पुनःनिर्माण गर्दा आफ्नो मौलिकता गुम्ने भन्दै देशकै गरिमा बोकेको यो विद्यालयलाई ऐतिहासिक धरोहरकारूपमा जोगाएर राख्नुपर्नेमा पुरातत्वले जोड दिएको छ ।
विदेशी संस्थाले सहयोग गर्दैमा देशको ऐतिहासिक शैली नै मेटिनेगरी पुनःनिर्माण गर्न नहुने पुरातत्व विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्