
चितवन, मंसिर २२ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशधाम निर्माणपछि भरतपुर क्षेत्रको कायापलट हुने बताएका छन् ।
शनिबार चितवन, भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थानलाई गणेशधाम निर्माणार्थ आयोजना गरिएको धनधान्यञ्चल ज्ञानमहायज्ञ तथा आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले गणेशधाम भरतपुर र समग्र प्रदेशको नै आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
उनले निर्माणाधीन गणेशधामको गुरुयोजनालाई मूर्तरुप दिन स्थानीयस्तरबाट सक्रियताका साथ काम गर्न आग्रह गरे ।
‘पर्यटन क्षेत्रको विकासले स्थानीयको जीवनस्तरमा पनि सुधार आउँछ’–उनले भने–‘गणेशधामले हजारौंलाई रोजगारी दिनसक्छ ।’
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गणेशधाम निर्माणको औचित्य १०औं हजारको सहभागिताले पुष्टि गरेको बताए ।
यस्तै, राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले गणेशस्थानको विकासले समग्र जिल्लावासीलाई फाइदा पुग्ने उल्लेख गरिन् ।
कार्यक्रममा चितवन–२ ‘ख’का सांसद विजय सुवेदीले चितवनलाई धार्मिक तथा आध्यात्मिक केन्द्र बनाउने उद्देश्यका साथ गणेशधाम निर्माण गर्न लागिएको बताए ।
प्रतिक्रिया दिनुहोस्