
सीमावर्ती सहर भारतको रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ३६.२०६ किमि लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम सुरु गरेका छन् ।
१५ महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमिनमुनि पुर्ने काम गर्नेछन् ।
त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले राससलाई बताए । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ ।
भारत सरकारको इन्डियन आयल कर्पाेरेसन (आइओसी)को करिब ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनका लागि सबै पाइप आइसकेकाले जडान गर्ने काम धमाधम भइरहेको छ ।
नेपालतर्फ रक्सौल–अमलेखगन्जसम्म ३६.७ किमि र भारतको मोतीहारी–रक्सौलसम्म ३३.२ किमि गरी ६९.९ किमिको पाइपलाइन निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।
आयोजना निर्माणको जिम्मा पाएको आइओसीले जनवरीदेखि वीरगन्जमा पाइप ल्याउन थालेको हो ।
प्रतिमहिना रु दुई लाख ३० हजारका दरले वीरगन्जस्थित चिनी कारखानाको दुई बिघा जग्गा भाडामा लिएर भन्डारणस्थलमा सो पाइप भन्डारण गरिएको छ ।
पाइपलाइन प्रयोगमा आएपछि प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ ।
पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्ने र चुहावट नियन्त्रणमासमेत रोकिने विश्वास परियोजनाले लिएको छ ।
पाइपलाइन सन्चालन भएपछि नेपाल सरकारले व्यहोर्दै आएको रु एक अर्ब ५० करोड ६ वर्षसम्म बचत हुने बताइएको छ । यसले पेट्रोलियम ढुवानी लागत सस्तो हुने तथा चोरी, चुहावट, मिसावट तथा ट्राफिक जामजस्ता समस्या हट्नेछन् ।
पाइपलाइनबाट एकपटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ ।
वीरगन्जको शंकराचार्यद्वारबाट तीन किमि गन्डक नहरसम्म बाइपास सडकको दायाँ भाग र त्रिभुवन राजपथको गन्डक अमलेखगन्ज खन्डमा सडकको दायाँबायाँ भागमा पाइप ओछ्याउने योजना छ ।
भारत, महाराष्ट्रको जिन्दल कम्पनीले माटो परीक्षण गरी जडान भइरहेको पाइपको गोलाइ १०.७५ इन्च तथा मोटाइ ०.२१९ इन्च छ । रासस
प्रतिक्रिया दिनुहोस्