
धनकुटा, फागुन २८ । धनकुटाको चौविसे गाउँपालिकामा प्राविधिक कर्मचारीको अभाव हुँदा योजना संचालनमा समस्या भएको छ ।
आठ वडा रहेको सो गाउँपालिकामा अहिले दुई जना प्राविधिकको भरमा चलिरहेको छ ।
भूगोलको हिसावले ठूलो र कतिपय दुर्गम वडा रहेको चौविसे गाउँपालिकामा प्राविधिक अभावले चालु आर्थिक वर्षमा संचालन हुने भौतिक पूर्वाधार योजनाको लागत स्टिमेट, सम्झौता र मूल्यांकन गर्ने कामसमेत प्रभावित बनेको छ ।
खानेपानी ट्यांकी मर्मत सम्भार, पाइप विस्तार, गुम्वा निर्माण, बाटो मर्मत जस्ता प्राविधिक स्टिमेट गर्ने योजनाहरु प्राविधिक अभावले निर्माण सुरु गर्न कठिनाइ भएको वडा नम्बर ४ का अध्यक्ष नगेन्द्रबहादुर तामाङले जानकारी दिए ।
योजनाको प्राविधिक स्टिमेट नहुँदा सम्झौता नभएको र कार्यान्वयन गर्न कठिनाइ भएको छ ।
प्राविधिकले योजनाको स्थलगत अध्ययन गरी स्टिमेट तयार पार्ने गर्छन् र स्टिमेटको आधारमा सम्झौता हुन्छन् ।
निर्माणको काम सुरु भएपछि कम्तीमा एक पटक योजना सञ्चालन स्थलमा पुग्नै पर्छ ।
३१ करोड २३ लाख रुपैयाँ चालु आर्थिक बर्षको लागि बजेट भएको सो गाउँपालिकामा करिव २ सय ५० वटा प्राविधिक योजना छन् ।
सो गाँउपालिकाममा चालु आर्थिक वर्षको ८ महिना वितिसक्दा १५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्