Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बोक्सी आरोपमा आमाबाटै किशारीमाथि निर्घात कुटपिट


0
Shares

सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीय जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जानुका स्थानीय हिमालय माविमा कक्षा ८ की विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानकीमाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए । ‘दोस्रो घन्टीको कक्षा चलिरहेको थियो, जानुका एक्कासी बिरामी भइन्’, श्रेष्ठले भने, ‘हामीले आमालाई बोलायौं, आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते, आमाले कपाल समाएर कुट्न थाल्नु भयो ।’

विद्यालयको आँगनमा १५ मिनेटजति कुटेपछि विद्यालयले उनीहरुलाई बाहिर निकालेको उनले बताए ।

विद्यालयले कम्पाउन्डबाहिर निकालेपछि आमाले छोरीलाई गाउँपालिकाको कार्यालय परिसरमा लगेर फेरि कुटपिट गर्न थालिन् ।

‘आमा झाँक्री र छोरी बोक्सी बनेर एक घण्टासम्म सवाल जवाफ भयो,’ स्थानीय भावना श्रेष्ठले भनिन्, ‘तँ को होस् भनेर आमाले सोधिन्, जानुकाले मखना हुँ भनिन्, तेरो कति छोराछोरी भनेर सामा सोध्ने, छोरीले भन्ने ।’ –नागरिक दैनिकबाट