
प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, सान्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ ।
स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्नसकिने प्राधिकरणको बुझाइ छ ।
ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ ।
प्राधिकरणकाअनुसार आगामी डेढ वर्षभित्र माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ ।
सान्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माणकार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए । त्यसमा माथिल्लो सान्जेनको प्रगति भने उल्लेख्यरुपमा सकारात्मक रहेको छ ।
यस्तै, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ ।
आयोजनाको काम द्रुतरुपमा भइरहेको प्रवक्ता डा. गणेश न्यौपाने बताए ।
यस्तै, भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।
यस्तै, चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिएपनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ ।
कुल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणकार्य ९९ प्रतिशत सम्पन्न भएपनि ‘हाइड्रोमेकानिकल’ र इलेक्ट्रोमेकानिकल’को काम रोकिँदै आएको छ ।
यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।
सो आयोजनाको हाल ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिए ।
यस्तै, मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर, सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भइसक्नुपर्ने राहुघाट जलविद्युत् आयोजना ठेकेदार छनोटको प्रक्रियामा नै अल्झिएको छ ।
काम नगरेपछि ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जाँदा राहुघाटको निर्माण सुरु हुनै सकेको छैन । सो आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० पुर्याइएको छ ।
प्राधिकरणकाअनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको ठेकेदार छनोटको प्रक्रिया सुरु भएको छ ।
प्राधिकरण र नेपाल टेलिकमलगायतको लगानी रहने सो आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’को सहायक आयोजनाकारुपमा निर्माण गर्न लागिएको हो ।
सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । प्राधिकरणले सो आयोजना २०७६ को अन्त्यसम्म सक्ने कार्यतालिका बनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यस्तो छ निजी क्षेत्रको तयारी
यस्तै, निजी क्षेत्रले सो अवधिमा साना, मझौला आयोजनाबाट करिब एक हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणसक्ने गरी तयारी गरिरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले सरकारले थप सहजीकरण गरिदिए आगामी डेढ वर्षभित्र करिब एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले विद्युत् खरिद सम्झौता भएका तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजनामध्ये करिब ७० प्रतिशत आयोजना निर्माणका चरणमा रहेको बताए ।
ऊर्जामा आत्मनिर्भर सरकारको प्राथमिकता
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सरकारी, निजी क्षेत्रका आयोजना तोकिएको समयभन्दाअगावै सम्पन्न गर्ने योजनामा सरकार रहेको जानकारी दिए ।
उनले वार्षिक रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थको आयातमात्रै प्रतिस्थापन गर्न पनि विद्युत् उत्पादनमा जोड दिनुपर्ने र निर्माणाधीन आयोजना समयअगावै सक्नुपर्ने बताए ।
हाल भारतबाट पेट्रोलियम पदार्थमात्रै नभइ हिउँदमा ४५० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्