३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै, हरिवंश भन्छन्– ‘फिल्मले हसाउँछ–रुवाउँछ’


0
Shares

फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण धेरैका लागि चासो बनेको यो फिल्म प्रदर्शन हुने मिति नजिकिएसँगै निर्माण टिम उत्साहित बनेको छ ।

फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससँगै फिल्मले राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायांकन दिर्घ गुरुङको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य यस चलचित्रका निर्माता हुन् ।

हरिबंश आचार्य : फिल्मको बुकिङ खुलिसकेपछि दर्शकले देखाउनु भएको उत्साहले हर्षित छौं । हामीले आफ्नो काम राम्रो गर्ने कोशिस गरेका छौं र दर्शकको रुची अनुसारकै फिल्म बनाएका छौं जस्तो लाग्छ । फिल्म शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई हामीले मनोरञ्जनको पूर्ण प्याकेज बनाउने कोसिस गरेका छौं । फिल्मले हसाउँछ, रुवाउँछ ।

किरण केसी : बुकिङ राम्रो भएको छ, साथै हामीले हल संख्या पनि राम्रो पाएका छौं । जसरी गीतसंगीत र ट्रेलरलाई दर्शकले रुचाइदिनु भएको छ, त्यसरी नै फिल्म पनि मन पराउनु हुन्छ भन्नेमा विश्वस्त छौं । हामीले हाम्रो अनुभवअनुसार दर्शकले रुचाउने किसिमले नै फिल्म तयार पारेका छौं ।

प्रदीप भट्टराई : मैले फिल्मलाई मदन दाइ, हरि दाइको फ्यानसँगै दीपक दाइ, दीपा दि, प्रियंका, पल, आँचल सबैको फ्यानलाई हुने गरि बनाउने कोसिस गरेको छु । मैले स्टारडम भन्दा पनि क्यारेक्टर अनुसार फिल्ममा प्रस्तुत गरेको छु । कथा अरुभन्दा फरक होइन, केवल प्रस्तुतिलाई रमाइलो बनाउने कोसिस गरेका छौं । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।