प्रकाश नेपाल/ईमेज:
इलाम, बैशाख १७ । थ्रीस्टार क्लब इलाममा आयोजित चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
सोमबार भएको फाइनलमा चिरप्रतिद्वन्दी मनाङ मस्र्याङदी क्लबलाई अतिरिक्त समयमा १-० गोलको संघर्षपूर्ण जित निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो ।
अतिरिक्त समयमो तेस्रो मिनेटमा नै थ्रीस्टारका सुनिल बलले गोल गरी टिमलाई उपाधि दिलाए ।

जितसँगै थ्रीस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र ट्रफी हात पार्यो पायो । मनाङले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यमाहाको स्कुटर प्राप्त गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माईभ्यालीका मनिस थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा सशस्त्र प्रहरीको एपिएफका युवराज खड्का र नविन लामा घोषित भए ।
खेल अवधिभर २-२ गोल गरेका उनीहरुले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टारका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल बल, उत्कृष्ट फर्वड थ्रीस्टारकै विदेशी खेलाडि मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए ।
उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । त्यसैगरी उदयीमान खेलाडी आयोजक माईभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे ।
गत ६ वैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टिमको सहभागिता थियो ।
माइभ्याली फुटबलको आयोजनामा प्रतियोगितामा संचालन गरिएको थियो ।
प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्