
दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली झापा–११ लाई फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली मदन भण्डारी एकेडेमीले झापालाई ४–० ले पराजित गरेको हो ।
एकेडेमीको जितमा विदेशी खेलाडी म्यापवेल एलनले २ गोल गरे । खेलको १२औं मिनेटमा म्यापवेलले एक गोल गर्दै एकेडेमीलाई अग्रता दिलाएका थिए ।
मदन भण्डारी एकेडेमीका लागि दोस्रो गोल प्रकाश बुढाथोकीले गरे । खेलको २५औं मिनेटमा सुजन राईको क्रसमा प्रकाशले हेडमार्फत् गोल गरेका हुन् ।
३४औं मिनेटमा म्यापवेलले व्यक्तिगत दोस्रो गोल गर्दा एकेडेमीले पहिलो हाफमा ३–० को अग्रता बनायो । सुजन राईको क्रसमा म्यापवेलले बललाई जाली चुमाएका थिए ।
खेलको ५८औं मिनेटमा विदेशी खेलाडी अबा नोरबर्ट केड्रियोले गोल गर्दै एकेडेमीलाई ४–० को अग्रता दिलाए । झापाका गोलरक्षक किशोर गिरीलाई छक्याउँदै उनले गोल गरेका हुन् ।
खेलको ‘म्यान अफ दी म्याच’ मदन भण्डारी एकेडेमीका सुजन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि, बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
दमक नगरपालिकाअन्तर्गत्को दमक नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताअन्तर्गत् बिहीबारको खेल दमक–११ र रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ ।
१० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्