
नयाँ दिल्ली, जेठ ६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई प्ले अफमा पुग्नबाट दिल्ली डेयरडेभिल्सले रोकेको छ ।
आइतबार भएको पहिलो खेलमा दिल्लीले मुम्बईलाई ११ रनले पराजित गरेको हो ।
दिल्लीका लागि नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै मुम्बईका तीन ब्याट्सम्यानलाई आउट गरे ।
उनले पहिलो ओभरमै सुर्यकुमार यादवलाई आउट गरे भने दशौं ओभरमा किरन पोलार्ड र कुणाल पाण्ड्यालाई आफ्नो शिकार बनाए ।
प्ले अफमा पुग्नका लागि मुम्बईले दिल्लीविरुद्धको खेल जित्नै पर्ने बाध्यता थियो । तर दिल्लीका लागि उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले तीन प्रमुख ब्याट्सम्यानलाई आफ्नो शिकार बनाएपछि मुम्बई संकटमा परेको थियो ।
सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन दिएर तीन विकेट लिएका हुन् । उनको जारी आइपिएलमा यो तेस्रो तथा अन्तिम खेल हो । यसअघि उनले अघिल्ला दुई खेलमा एक–एक विकेट लिएका थिए ।
दिल्ली यसअघि नै प्ले अफको दौडबाट बाहिरिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्