Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


‘पहिलो सहभागितामै दोस्रो चरणमा पुगेकोमा खुसी छौं’


0
Shares

कुमार चौलागाइँ (रासस) 

काठमाडौं, कात्तिक १३ । पहिलोपटक एएफसी यु–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ ।

थाइल्यान्डमा यही कात्तिक ६ देखि ११ गतेसम्म भएको च्याम्पियनसिप छनोट खेलमा समूहको दोस्रो स्थानमा रहँदै नेपाल अघिल्लो चरणमा छनोट भएको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले रासससँग भने–‘पहिलो खेलमा पराजित भएपनि त्यसपछिका खेलमा हामीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्न सफल भयौं । यो हाम्रा लागि गौरवको कुरा हो ।’

पहिलो सहभागितामै दोस्रो चरणमा पुग्नु खुसीको कुरा भएको बताउँदै उनले अब दोस्रो चरणका लागि अहिलेदेखि नै राम्रो प्रशिक्षणको खाँचो औंल्याए ।

‘दोस्रो चरणमा अहिलेकोभन्दा निकै सशक्त टोली छन् । उनीहरुलाई जित्नु निकै कठिन छ । त्यसैले अहिलेदेखि नै राम्रो प्रशिक्षण गर्नु जरुरी छ’–उनले भने ।

दोस्रो चरणको छनोटका खेल सन् २०१९ को अप्रिलमा थाइल्यान्डमै हुनेछन् ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो । त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो ।

नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।

अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने दोस्रो चरणको छनोट पार गर्नुपर्नेछ ।

च्याम्पियनसिप दोस्रो चरणको छनोटमा ६ समूहका समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्र गरी ८ टोली पुगेका छन् ।

नेपालसहित पहिलो चरणको छनोटबाट अष्ट्रेलिया, इरान, दक्षिण कोरिया, उज्वेकिस्तान, भियतनाम, लेबनान र म्यानमार दोस्रो चरणमा पुगेका हुन् ।

२०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेका जापान, उत्तर कोरिया र चीनबाहेक २७ राष्ट्रले पहिलो चरणको क्वालिफायरमा सहभागिता जनाएका थिए । त्यसबाट उत्कृष्ट ८ टोली दोस्रो चरणको लागि छनोट भएका हुन् ।

आयोजकको हैसियतले थाइल्यान्ड भने सीधै अन्तिम चरणमा खेल्न पाउनेछ ।

अब यी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर दोस्रो चरणको छनोटका खेल हुनेछन् । त्यसबाट दुवै समूहको उत्कृष्ट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । दोस्रो चरणको छनोट खेल २०१९ मार्चमा हुनेछ ।

दोस्रो चरणबाट छनोट हुने चार, २०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेका जापान, उत्तर कोरिया र चीन तथा आयोजक थाइल्यान्ड गरी कुल ८ टोलीबीच २०१९ को अन्तिममा च्याम्पियनसिप फुटबल प्रतियोगिता हुनेछ ।