Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


क्रिकेट विश्वकपको ट्रफी वसन्तपुरमा, यस्तो छ ११ केजी तौलको ट्रफीको वास्तविकता (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १२ । आइसीसी क्रिकेट विश्वकपको ट्रफी सोमबार काठमाडौंको वसन्तपुरस्थित दरबार क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखियो ।

चारदिने ‘ट्रफी टुर’को अन्तिम दिन वसन्तपुरमा राखिएको ट्रफी हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

६० सेन्टिमिटर उचाइ र ११ केजी तौल रहेको एकदिवसीय विश्वकप क्रिकेटको यो ट्रफी सन् १९९९ मा बनाइएको हो ।

सुन र चाँदीबाट तयार पारिएको ट्रफी अहिले विश्व भ्रमणकाक्रममा रहेको छ ।

काठमाडौंको वसन्तपुरमा ट्रफी हेर्न सर्वसाधारणको विशेष घुइँचो देखिन्थ्यो । ट्रफीका साथ सेल्फी खिच्नेहरुको तँछाडमछाड पनि कम थिएन ।

नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएको अवसरमा पहिलोपटक एकदिवसीय क्रिकेट विश्वकपको ट्रफी नेपाल ल्याइएको हो ।

यहाँसम्म पुग्न नेपाली क्रिकेटले निकै मिहिनेत गरेको आइसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेको भनाइ छ ।

इंग्ल्यान्ड र वेल्समा अर्को वर्ष हुने विश्वकप क्रिकेटको १२औं संस्करणअघि यो ट्रफी विश्वका पाँच महादेशको २१ देशका ६० सहरमा पुर्‍याइनेछ ।

एकदिवसीय विश्वकप ट्रफीमा चाँदीका तीन ‘कोलम’मा ठडिएको सुनको ‘ग्लोब’ रहेको छ ।

हरेक कोलमहरु स्टम्पस र बेलको आकारमा छन् । यी तीन कोलमहरु क्रिकेटका तीन मुख्य विधा बलिङ, ब्याटिङ र फिल्डिङका प्रतीक हुन् ।

सन् १९९९ को विश्वकपसम्म विजेता राष्ट्रले ‘ओरिजिनल’ ट्रफी राख्न पाउँथ्यो । त्यसपछि भने ओरिजिनल ट्रफी आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)कै स्वामित्वमा रहँदै आएको छ ।

विश्वकप विजेताले यही स्वरुपको अर्को ‘रेप्लीका’ पाउने गर्दछन् । विश्वकपको ओरिजिनल ट्रफी त नेपाल आयो । तर, एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको चाहना भने अहिलेसम्म पूरा हुन सकेको छैन ।

भिडियो हेर्नुहोस्