Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


‘ए’ डिभिजन लिग मंसिर १ देखि पुनः सुरु हुने


0
Shares

काठमाडौं, कात्तिक १० । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी मंसिर १ गतेदेखि पुनः सुरु हुने भएको छ ।

असोज १३ गतेदेखि सुरु भएको भएको लिग बंगबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो ।

त्यसपछि लिग तालिका परिमार्जित गरेर दसैंअगाडिसम्म पहिलो चरणका खेल भएका थिए ।

दसैं र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो ।

‘अब मंसिरको १ गतेदेखि पूर्ण खेलतालिकासहित लिग सुरु गर्ने सहमति भएको छ’–लिग निर्देशक सञ्जिव मिश्रले भने ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

‘राउन्ड रोबिन लिग’को आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।

लिगको चौंथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् ।

‘फेयर प्ले’ टिमले रु एक लाख पाउनेछ ।

प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार दिनेछ ।

यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । रासस

Skip This