Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


माल्दिभ्सको पोस्टमा बंगलादेशको ९ गोल


0
Shares

काठमाडौं, कात्तिक १० । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा बंगलादेशका निहत जमानको ४ गोलको मद्दतले बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गर्‍यो ।

जमानले ११औं, २०औं, २३औं र ४६औं मिटेमा गोल गरेका थिए ।

त्यस्तै, कप्तान मोहमद महेदी हसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

४८औं र ६६औं मिनेटमा गरी रसेल अहमेदले दुई तथा ८०औं र खेलको अन्तिम मिनेटमा गरी आसिकुर रहमानले दुई गोल गर्दै बंगलादेशलाई फराकिलो जित दिलाए ।

जितसँगै बंगलादेश र नेपाल समूह ‘ए’बाट साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् भने लगातार दुई हार व्यहोर्दै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’मा बंगलादेश र नेपालको समान ३ अंक भएको छ । समूह ‘ए’को समूह विजेता भने आइतबार नेपाल र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।

लिग चरणमा बंगलादेशको यो पहिलो खेल हो । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।

आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ । यसअघि, नेपालले बिहीबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाएका हुन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । रासस