Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


आइसीसी विश्वकप क्रिकेट ट्रफी पोखरामा


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक १० । आइसीसी विश्वकप क्रिकेट ट्रफी शनिबार बिहान पोखरा ल्याइएको छ ।

पोखरा रंगशालामा पोखरा प्रिमियर लिग (पीपीएल) चलिरहँदा क्रिकेटप्रेमीले घरेलु मैदानमै सो ट्रफी अवलोकन गर्न पाएका हुन् ।

विश्वकप ट्रफी क्रिकेटर सन्दीप लामिछानेले सार्वजनिक गरेकामा दुई मिनेटमात्र सन्चारकर्मीलाई फोटो खिच्नका लागि दिइएको थियो ।

नेपाली सबै क्रिकेट खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा ल्याइएको जनाइएको छ ।

शुक्रबार दिउँसो काठमाडौं ल्याइएको सो ट्रफी नेपालमा तीन दिन राखिनेछ । ट्रफी आगामी सोमबार फिर्ता लगिने जनाइएको छ ।

आइसीसीले विश्व भ्रमणकाक्रममा विश्वकप ट्रफी नेपालमासमेत प्रदर्शन गरेको हो ।

‘ट्रफी टुर’को मुख्य उद्देश्य क्रिकेटको ‘क्रेज’ बढाउनु र पर्यटन प्रवर्धन गर्नु रहेको जनाइएको छ ।

विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) हुँदै नेपाल ल्याइएको हो ।

सो ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी हुँदै इंग्ल्यान्ड लगिनेछ ।

विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० सहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।

इंग्ल्यान्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाईसम्म आइसीसी विश्वकप हुँदैछ ।