काठमाडौं, कात्तिक ९ । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करण शुक्रबारदेखि पोखरामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा स्थानीय टिम पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले हरायो ।
पोखराले दिएको १९८ रनको विशाल चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो ।
विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०/३० रन जोडे । पोखराका ललित राजवंशीले २ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित् २० ओभरमा ३ विकेट गुमाउँदै १९७ रन जोडेको थियो ।
पोखराका आरिफ शेखले सर्वाधिक ५२ रन जोड्दा भारतीय ब्याट्सम्यान रभिइन्दर सिंहले ४४ रन बनाए ।
विस्फोटक ब्याटिङ गरेका विनोद भण्डारीले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा अविजित ४१ रन जोडे । सुरुआती ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिँदा शहाब आलमले एक विकेट झारे ।
प्रतियोगितामा देशका मुख्य ६ सहर पोखरा, विराटनगर, काठमाडौं, धनगढी, बुटवल र चितवनका ६ टिम सहभागी छन् । यही कात्तिक २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतियोगिता सन्चालन हुनेछ ।








प्रतिक्रिया दिनुहोस्