काठमाडौं, असोज २७ । विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार अपराह्न स्वदेश फर्केको छ ।
मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए ।
शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्ध भएपछि रनरेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।
उपाधिसँगै नेपाल विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेताकारुपमा दोस्रो चरणको छनोटमासमेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।
त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिाय दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरि विश्वकप खेल्ने सपना रहेको बताएका छन् ।
‘फेरि विश्वकप खेल्ने सपना छ । पहिलो चरण पार गरेका छौं । अब दुई चरण बाँकी छ । त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुनेछौं’–कप्तान खड्काले भने ।
अर्को चरणको खेल अहिलेकोजस्तो सजिलो नहुने बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखि नै तयारी अघि बढाउनुपर्ने बताए ।
‘अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौं भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ’– खड्काको भनाइ थियो ।
एसिया छनोटमा ६ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेका छन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये ६ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् । रासस








प्रतिक्रिया दिनुहोस्