कुमार चौलागाइँ (रासस)
काठमाडौं, असोज २६ । आइसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’को उपाधि नेपालले जितेको छ ।
छनोटको अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रनरेटका आधारमा उपाधि जितेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा शुक्रबार सिंगापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएपछि नेपाललाई विजेता घोषणा गरिएको थियो ।
सिंगापुर र नेपालको समान ६ खेलबाट समान ११/११ अंक भएपनि नेपाल रनरेटका आधारमा अघि भएपछि उपाधि जितेको हो ।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो ।
सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले तीन चौका प्रहार गरे ।
त्यसैगरी, मनप्रीत सिङ र सिद्वान्तले समान १०/१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै, सोमपाल कामी र करण केसीले २/२ विकेट झारे भने ललित राजवंशी र वसन्त रेग्मीले १/१ विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो ।
त्यस्तै, नेपालले दोस्रो खेलमा २० गते मलेसिया, २१ गते थाइल्यान्ड, २३ गते भुटान तथा २४ गते चीनलाई पराजित गरेको थियो ।
यसअघिका पाँच खेलमा सिंगापुर पनि अपराजित टोली थियो । नेपाल र सिंगापुरले समान पाँच खेलबाट १०/१० अंक जोडेका थिए । रनरेटका आधारमा नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहँदै आएको थियो ।
नेपालले टी–२० मा सिंगापुरविरुद्ध पछिल्लोपटक सन् २०१३ मा खेलेको थियो । एसीसी टी–२० अन्तर्गत् कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जित निकालेको थियो ।
गत महिना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
अब एसिया छनोटमा ६ टोलीले खेल्नेछन् । यसअघि, एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये ६ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
सन्दीपको राष्ट्रिय कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
सन्दीपले मलेसियामा भएको आइसीसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।
सन्दीपले शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुआती पाँच खेलमा २० विकेट लिएर कीर्तिमाननजिक पुगेका थिए ।
यसअघि, सिनियरस्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान वसन्त रेग्मी र विनोद दासको संयुक्त नाममा थियो ।
वसन्तले सन् २०१२ मा भएको आइसीसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए ।
विनोदले सन् २००५ को एसीसी ‘फास्ट ट्रयाक कन्ट्रिज’ प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए ।
प्रतियोगितामा सन्दीपले सिंगापुरविरुद्ध ४, चीनविरुद्ध ३, भुटानविरूद्ध ३, थाइल्यान्डविरुद्ध ५, मलेसियाविरुद्ध ५ र म्यानमारविरुद्ध ४ विकेट लिएका थिए ।








प्रतिक्रिया दिनुहोस्