
काठमाडौं, असोज १९ । २०औं इमेज अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।
इमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आइरहेको इमेज अवार्डको २०औं संस्करण शनिबार (भोलि) काठमाडौंमा हुँदैछ ।
यस वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिँदैछ ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इअर’को सम्मान प्रदान गरिँदैछ ।
अवार्ड समारोहमा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’हरु मध्येबाट १८ ओटा विधामा पुरस्कार प्रदान गरिनेछ ।
विगतका वर्षहरुमा २३ विधालाई ५ समूहमा विभाजन गरी पुरस्कृत गरिँदै आएकोमा यो वर्ष फरक ढंगले १८ विधालाई समावेश गरिएको हो ।
१७ ओटा मनोनयन नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुको मूल्यांकनको आधारमा गरिएको हो । तिनै मनोनयनमा परेका पाँचओटामध्ये एउटा विधालाई भने ‘पब्लिक च्वाइस’का आधारमा चयन गरिनेछ ।
‘नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमा समर्पितहरुको सम्मान, प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिका लागि’ हरेक वर्ष इमेज अर्वाड गरिँदै आएको छ ।
नेपाली सांगीतिक उद्योेगकोे विकासमा इमेज च्यानलले सुरुआती दिनदेखि नै अहं भूमिका निर्वाह गदै गीत, संगीत र साधकहरुलाई सक्दो प्रोत्साहन दिँदै आएको छ ।
राजधानीको होटल सोल्टीमा शनिबार अपराह्न ४ बजेदेखि हुने समारोहको इमेज च्यानल, इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ बाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्