
काठमाडौं, असोज १७ । चीनकी प्रसिद्ध अभिनेत्री फान बिङबिङलाई करछलीलगायतको अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ ।
गत जुलाईदेखि बेपत्ता यी अभिनेत्रीले सामाजिक सन्जालमार्फत् क्षमायाचना गरेकी छन् ।
चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्ये पर्ने फानले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्ननपर्ने ‘सिन्ह्वा’ले जनाएको छ ।
कलाकारहरूको पारिश्रमिकबारेको सरकारी छानबिनमा उनी तानिएकी थिइन् ।
अधिकारीहरूले फान र उनको कम्पनीलाई कर, जरिवाना तथा दन्डस्वरूप अर्को जरिवाना पनि तिर्न आदेश दिएका छन् ।
‘एक्स म्यान’ र ‘आइरन म्यान’ फिल्म फ्रेन्चाइजमा देखापरेकी ३७ वर्षीया अभिनेत्री फान जुलाई १ पछि कहाँ छिन् भन्ने स्पस्ट छैन ।
सामाजिक सन्जाल ‘वेइबो’मा प्रशंसकसँग क्षमा माग्दै उनले आफ्नो कामबाट लज्जित भएको बताएकी छन् । उनले कानुनको पालना गर्नेसमेत उल्लेख गरेकी छन् ।
यता, फानका प्रतिनिधिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ । फान चीनका अतिप्रभावशाली कलाकारमा पर्छिन् ।
गत वर्ष ‘फोर्ब्स’ म्यागजिनमा उनी धेरै कमाउने शीर्ष चिनियाँ कलाकारको सूचीमा परेकी थिइन् । उनको वार्षिक आम्दानी करिब ४३ मिलियन डलर छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्