Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालको उत्कृष्ट सुरूआत, सन्दीप बने ‘म्यान अफ दी म्याच’


0
Shares

काठमाडौं, असोज १७ । विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटमा नेपालले शानदार सुरूआत गरेको छ ।

बुधबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको हो ।

म्यानमारले दिएको ३० रनको झिनो चुनौती नेपालले तीन ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

करण केसीले ८ बलमा अविजित रहँदै १४ तथा अनिलकुमार शाहले ५ बलमा ११ रन जोडे । ओपनर प्रदीप ऐरी शून्य रनमा आउट भए । विनोद भण्डारी १ रनमा अविजित रहे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले १० ओभर खेल्दा सबै विकेट गुमाएर २९ रनमात्र बनाएको थियो ।

६ खेलाडीले रनको खातासमेत नखोलेको म्यानमारको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा ‘म्यान अफ दी म्याच’ घोषित सन्दीप लामिछानेले २ ओभरमा ३ रन खर्चेर ४ विकेट लिए ।

त्यसैगरी, ललित राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर ३ विकेट लिए । ललित भण्डारी र करण केसीले १/१ विकेट लिए ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको ‘बी’मा नेपाल र म्यानमारसहित आयोजक मलेसियासँगै थाइल्यान्ड, चीन, भुटान र सिंगापुर रहेका छन् । शीर्ष तीनमा पर्ने टोली एसियाली क्षेत्रीय छनोटका लागि छानिनेछन् ।

पहिलो दिनको खेलमा थाइल्यान्डले चीनलाई १० विकेटले तथा मलेसियाले भुटानलाई ६७ रनले हराएको छ ।

नेपालले दोस्रो खेलमा शनिबार मलेसियासँग खेल्नेछ ।