Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादव र प्रमुख प्रहरी निरीक्षक पौडेलसहित ८ जना क्यासिनोबाटै पक्राउ


1.6k
Shares

वीरगञ्ज । पर्सामा न्यमिभल गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-१४ गण्डकमा रहेकाे साेही क्यासिनाेबाट उनीहरुलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल समेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले एक प्रेस विज्ञप्ति जारी गर्दै शनिबार राति करिब साढे १० बजे क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली क्यासिनोमा पुगेको जनाएकाे छ।

छापा मार्ने क्रममा जुवा खेल्ने चार जना नेपाली नागरिक र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा चार जना कर्मचारी गरी कूल ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको हाे। प्रहरीले पक्राउ पर्ने जुवा खेल्ने समूहमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव, वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय ओमप्रकाश भट्ट, हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल र ए.पी. बस्ने ३० वर्षीय चन्दन सहनी रहेकाे जनाएकाे छ। पक्राउ परेका प्रदीप पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक रहेको प्रहरी कार्यालय पर्साको स्रोतले जनाएको हाे।

नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले क्यासिनोका चार कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल उक्त क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज महानगरपालिका–१२ का ५० वर्षीय प्रदेशी साह रहेका हुन्।प्रहरीले उनीहरूलाई नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराएर जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।

साेही घटनामा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादव सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको अवस्थामा पक्राउ परेको प्रहरीले जानकारी दिएकाे हाे। प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइएको सूचना पाएपछि टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले जुवा खेल्दै तथा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानूनी रूपमा प्रतिबन्ध रहेकाले प्रहरीले यस विषयमा निगरानी तथा कारबाही गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका आठै जनामाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको हाे। अनुसन्धानपछि घटनामा उनीहरूको संलग्नताको प्रकृति तथा कानूनी कारबाहीकाे बारेमा थप विवरण सार्वजनिक हुने प्रहरीले बताएको छ।