कुमार चौलागाइँ (रासस)
काठमाडौं, असोज १२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।
चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ ।
लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेसनबिनाको लिग गर्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सन्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताए ।
सबै क्लबको दाबी–‘राम्रो नतिजा ल्याउँछौं’
पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ ओटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा उनीहरुले लिगको उपाधिमा आ–आफ्नै क्लबको दाबेदारी प्रस्तुत् गरे ।
सुरुमा बोलेका न्यूरोड टोली (एनआरटी)का प्रशिक्षक महेश्वर मुल्मीले ‘ए’ डिभिजन लिगलाई आफूहरुले राम्रो सदुपयोग गर्ने बताए ।
तयारीका लागि खेलमैदान तथा गोलपोस्टको अभाव भएको बताउँदै लिग तालिकामा पाचौं या छैटौं स्थानमा रहने उल्लेख गरेका थिए ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग जित्ने लक्ष्यका साथ तयारी गरिएको बताए ।
ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्ज्वल श्रेष्ठले लिगमा नयाँ खेलाडीकै भरमा रहेको बताए । तालिकाको आठौं स्थानमा रहने लक्ष्य रहेको बताउँदै उनले विगतका लिगमाभन्दा राम्रो प्रदर्शनको अपेक्षा राखेको बताए ।
नेपाल पुलिस क्लबमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेकाले लिग जित्नेमा विश्वस्त रहेको उनको दाबी थियो ।
फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण प्रशिक्षण राम्रो हुन नसकेको बताउँदै क्लबमा धेरै यु–१८ का खेलाडी रहेको बताए । उनले रक्षापंक्ति बलियो रहेकाले तालिकाको ६ देखि आठौं स्थानसम्म रहने विश्वास व्यक्त गरे ।
जावलाखेल युथ क्लबका प्रशिक्षक राजकुमार घिसिङले छदेखि नवौं स्थानमा रहने विश्वास व्यक्त गरे । लिगका लागि राम्रो तयारी गरेको उनको भनाइ छ ।
त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले यसपटकको लिगमा आफ्ना खेलाडी पूर्णरुपमा फिट रहेको र जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा रहेको बताए ।
‘यसपटकको लिगको उपाधिका लागि नै हामी मैदानमा उत्रने छौं’–उनले भने ।
मनाङ–मर्स्याङ्दी क्लबका प्रशिक्षक तोग्बे पूजाले उपाधि रक्षा गर्नु नै आफूहरुको लक्ष्य रहेको बताए ।
रेलिगेसन नहुने लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् । राउन्ड रोबिन लिगका आधारमा हुने लिगको विजेताले रु ५० लाख पाउनेछन् ।
यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।
लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाइएको छ ।
लिगको चौथो टोलीले रु १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् ।
‘फेयर प्ले’ टोलीले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछ ।
सहिद स्मारक लिगको इतिहास झन्डै ८५ वर्ष पुरानो छ । वि.सं. १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट सुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीनपटक जित्दै इतिहास बनाएको छ ।
पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल संघलाई दिएको थियो ।
त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका सम्पूर्ण सहिदको सम्झनामा प्रतियोगितालाई ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग ट्रफी’ नामकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको स्थापना २०११ सालमा नरशमशेर जबराले गरेको इतिहास छ । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् ।
उक्त उपाधि हालसम्म मनाङ–मर्स्याङ्दी क्लबले सबैभन्दा बढी (वि.सं. २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) सातपटक जितेको छ ।
यस्तै, रानीपोखरी कर्नर टोली (आरसीटी)ले (२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१) ६, नेपाल पुलिस क्लबले (२०१२, २०१३, २०६३, २०६६ र २०६८० पाँच, थ्रीस्टार क्लबले (२०५४, २०५५, २०६१, २०६९ र २०७१) पाँच, महावीर क्लबले (२०११, २०२३ र २०२६) तीन, संकटा क्लबले (२०३७, २०४० र २०४२) तीन, अन्नपूर्ण फुटबल क्लबले (२०३४ र २०३९) दुई, देउराली क्लबले (२०२५ र २०२७) दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेन्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक/एकपटक उपाधि जितेका छन् ।
वि.सं. २०७१ यता सहिद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन ।
लिगको प्रत्यक्ष प्रसारण एपी–१ बाट
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल एपी–१ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ब्रोडकास्टिङ पार्टनरकारुपमा शुक्रबार एपी–१ एचडी टेलिभिजनसँग सम्झौता गरेको छ । एन्फाले डिजिटल पार्टनर र अनलाइन लाइभका लागि भने माइकुजुसँग यसअघि नै सम्झौता गरिसकेको छ ।
एन्फाले तीन वर्षका लागि एपी–१ सँग सम्झौता गरेको हो । सम्झौतासँगै ‘ए’ डिभिजन लिगका ९१ ओटै खेल एपी–१ टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण हुनेछन् ।
प्रत्यक्ष प्रसारण गरेबापत एपी–१ ले यस वर्ष एन्फालाई रु ३० लाख, अर्को वर्ष रु ३५ लाख र तेस्रो वर्ष रु ४० लाख उपलब्ध गराउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । रासस








प्रतिक्रिया दिनुहोस्