काठमाडौं, असोज ४ । सरकारले संविधान दिवसका अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।
खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराँते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो ।
त्यसैगरी, रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाजसेवा रत्न प्रदान गरिनेछ ।
गत महिना इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र रजतपदक विजेता पाराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ ।
सो पदक पाउनेमा पाराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।
संविधान दिवसका दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ ।
संविधान दिवसका अवसरमा सरकारले वर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । रासस








प्रतिक्रिया दिनुहोस्