१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


विविधता हाम्रो सम्पत्ती हो, यसलाई गोलवद्ध गर्नसके देशको हित हुन्छ : पर्यटनमन्त्री पाण्डे


208
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पार्नुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री पाण्डेले प्रत्येक भाषा र समुदायले आफ्नै साहित्य, कला र दर्शन बोकेको उल्लेख गर्नुभयो । उहाँले विविधतालाई सशक्त रूपमा प्रवद्र्धन गर्न सकिएमा त्यसबाट देशकै हित हुने बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले विविधतालाई सङ्गठित गर्दै गोलवद्ध गर्न सकेमा नेपालले आफ्नो मौलिक पहिचान सुरक्षित गर्न सक्ने र समावेशी राष्ट्र निर्माणमा थप बल पुग्ने धारणा राख्नुभयो । उहाँले विविधतालाई प्रवद्र्धन गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले मातृभाषाहरूको विकास तथा भाषाहरूको संरक्षण र विकासको लागि संविधानको धारा २८७ मा भाषा आयोगको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भाषा आयोगले नेपालमा रहेका भाषाहरूको खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासका कामहरू गरिरहेको जिकिर गर्नुभयो ।