कुमार चौलागाइँ (रासस)
काठमाडौं, भदौ ३० । तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले शनिबारदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा सुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत् खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरन्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ ।
‘सानै उमेरमा एकापसमा चिनजान तथा घुलमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान सुरु गरेका हौं’–एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने–‘सानै उमेरमा उत्कृष्ट खेलाडी उत्पादन गर्नु अभियानको अर्को लक्ष्य हो ।’
अभियान सुरु गरेरमात्र नहुने भन्दै उनले निरन्तरता दिन अर्को वर्षदेखि यसलाई वार्षिक क्यालेन्डरमा राखेर अघि बढाउने योजना एन्फाको रहेको बताए ।
अभियानलाई विस्तार गरी अर्को वर्षदेखि ७७ जिल्लामै लागू गर्ने एन्फाको तयारी छ ।
एन्फाले ग्रासरुट फुटबल गतिविधि सन्चालन र मैदानको मर्मतलगायत कार्य गर्न ४५ ओटै जिल्ला फुटबल संघलाई आर्थिक सहयोग र खेलकुद सामग्री प्रदान गरिसकेको छ ।
खेल सन्चालनका लागि एन्फाले सुगम जिल्लाका लागि रु पाँच लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेलकुद सामग्री र दुर्गम जिल्लाका लागि रु १० लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेल सामग्री सम्बन्धित जिल्ला संघका पदाधिकारीलाई उपलब्ध गराइसकेको छ ।
खेलाडी दर्ताको समय ६ दिन थप
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय ६ दिन थप गरेको छ ।
करिब चार वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले शनिबरसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो ।
क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि ६ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
एन्फाले पहिलोपटक अनलाइनबाट सुरु गरेको खेलाडी दर्ता प्रक्रिया आगामी असोज ५ गतेसम्म गर्न सकिनेछ ।
क्लबले ए डिभिजन लिगलाई ध्यानमा राखेर विदेशी खेलाडी धमाधम ल्याउनेक्रम जारी राखेको र खेलाडी दर्ताको समय थप्न माग गरेकाले दर्ता सयम थप गरिएको महासचिव तुलाधरको भनाइ छ ।
सबै क्लबले न्यूनतम् १८ खेलाडी दर्ता गराइसकेको भएपनि थप खेलाडी दर्ताका लागि समय माग गरेका हुन् ।
एन्फाले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लबलाई चारजना विदेशी खेलाडी अनुबन्ध गराउन छुट दिइएको छ ।
एन्फाले दर्ता भएका खेलाडीको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।
ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज १४ गतेदेखि माघ १६ गतेसम्म हुने एन्फाले जनाएको छ ।
लिगमा १४ ए डिभिजन टोली थ्रीस्टार क्लब, मनाङ–मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउनेछन् ।
‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’ करण केसीलाई
‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’बाट नेपाली राष्ट्रिय टोलीका अलराउन्डर क्रिकेट खेलाडी करण केसी सम्मानित भएका छन् ।
नेपाल क्रिकेट समर्थक समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनलाई रु एक लाख राशिको उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
गत फागुनमा नामिबियामा सम्पन्न डिभिजन–२ मा क्यानाडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण जित दिलाएको भन्दै समाजले उनलाई सो सम्मान प्रदान गरेको हो ।
गत फागुनमा क्यानडाविरुद्ध भएको एक विकेटको जितले नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।
विश्वकप छनोटबाट नेपालले ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । करणले क्यानडाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै अविजित ४२ रन जोडेका थिए ।
समाजले आफ्ना पूर्वकोषाध्यक्ष स्व. प्रमोद बज्राचार्यको सम्झनामा यो पुरस्कार स्थापना गरेको हो । रासस








प्रतिक्रिया दिनुहोस्