
काठमाडौं, असार ६ । इजिप्टलाई पाखा लगाउँदै रुस विश्वकप फुटबलको दोस्रो चरणनजिक पुगेको छ ।
समूह ‘ए’को दोस्रो चरणको खेलमा मंगलबार राति आयोजक रुसले इजिप्टलाई ३–१ ले हरायो ।
खेलको ४७औं मिनेटमा इजिप्टका अहमद फाथीले आत्माघाती गोल गरेपछि रुसले सुरुआती अग्रता लिएको थियो ।
५९औं मिनेटमा डेनिस चेरिसेभले एक गोल थप्दै रुसको अग्रता दोब्बर पारे । जारी विश्वकपमा चेरिसेभको यो तेस्रो गोल हो ।
त्यसको तीन मिनेट पनि बित्न नपाउँदै आर्तेम जुबाले एक गोल थप्दै रुसको अग्रता फराकिलो पारे ।
खेलको ७३औं मिनेटमा इजिप्टले एक गोल फर्कायो । इजिप्टका लागि मोहोम्द सालाहले पेनाल्टीमार्फत् उक्त गोल गरेका हुन् ।
जितसँगै रुस विश्वकप फुटबलको दोस्रो चरणमा पुग्ने सम्भावनानजिक पुगेको छ । लगातार दुई खेल जितेको रुसको ६ अंक छ ।
बुधबार राति हुने खेलमा उरुग्वेले साउदी अरबियालाई हराएको खन्डमा यो समूहबाट रुस र उरुग्वे अर्को चरणमा उक्लनेछन् ।
इजिप्ट भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।
प्रतिक्रिया दिनुहोस्