Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


रिडीमा पाँच दिने माघे संक्रान्ति मेला सुरु


0
Shares

पाल्पा । माघे संक्रान्तिको अवसरमा तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आजदेखि पाँच दिने माघे संक्रान्ति मेला सुरु भएको छ ।

नेपालकै चार धाममध्येको एक रुरु क्षेत्रधाम रिडीमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा माघी मेला लाग्ने गर्दछ ।

पवित्र कालिगण्डकी नदिमा स्नान गरि भगवान ऋषिकेशको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरि माघ १ गतेदेखि ५ गते गतेसम्म स्थानीय उत्पादनसहितको बृहत सांस्कृतिक एवं धार्मिक मेला आयोजना गरिएको रुरु फ्रेड्स क्लवका सचिव प्रेम भण्डारीले जानकारी दिनुभयो ।

मेलामा पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्गजा, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरु डोको, भकारी, सुपो, राडिपाखी, कम्मलसहित खुदो, गूड, ओखर, घाँजी लगायतका बहुगुणी वस्तुहरु बिक्रीका लागि रिडी बजारमा ल्याउने गरिएको छ । जेठी, माइली, र कान्छी संक्रान्तिका रुपमा मनाइने धार्मिक मेलामा लाखौं श्रदालु भक्तजन रिडीमा पुग्ने गर्दछन् ।

कालिगण्डकी नदिमा स्नान गरि भगवान ऋषिकेशको दर्शन गरेमा अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वासले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, रुपन्देही, कास्की, चितवन, दाङ, नेपालगञ्जसहित छिमेकी मुलुक भारतबाटसमेत भारतीय दर्शनार्थी माघी मेलामा रुरु क्षेत्र धाम रिडीमा स्नानका लागि पुग्ने गरेका छन् ।