Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


संघीय निजामती विधेयक रातारात सच्याइँदै

चार दिनसम्म पनि संसदमा भएन दर्ता

1.2k
Shares

काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता गराउन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले विधेयकमा रातारात सच्याउने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘केही महत्वपूर्ण विषयमा राजनीतिक तहमा सहमति जुट्न बाँकी रहेकाले आन्तरिक रूपमा सहमति जुटाएर मात्रै विधेयक संसद्मा दर्ता गर्न पठाइने भएको छ । अझै केही विषयमा आन्तरिक छलफल भएर थपथाप गर्नुपर्ने देखिएको छ, तर अब छिटै संसद्मा पठाउँछौं ।’

यद्यपि, संसद्मा नै आवश्यक छलफल हुने भन्दै सो विधेयक छिटोभन्दा छिटो संसद्मा दर्ता गराउन दबाब पनि परेको छ । मन्त्रिपरिषद्को विधेयक समितिले प्रभावकारी रूपमा गृहकार्य नगर्दै मन्त्रिपरिषद्ले एकैचोटी विधेयक संसद्मा पठाउने निर्णय गरेपछि समस्या परेको बताइएको छ ।

स्रोतका अनुसार कर्मचारीको वृत्ति विकास, तथा प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन । सत्तारुढ दल नै यो विषयमा विभाजित बनेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनीकमा प्रकाशित छ ।