Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


हिमाल उक्लियो डेंगी


1.1k
Shares

धनगढी । केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे।

तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन। तर, पछिल्ला वर्षहरूमा यो परिदृश्य बदलिएको छ, पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टेको कहर बढ्न थालेको छ।

लामखुट्टेको टोकाइबाट तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले फैलिएर हिमाल र पहाडमा पनि पुगेको छ। डेंगी संक्रमण सार्ने प्रजातिको लामखुट्टेले यतिबेला हिमाली जिल्लामा पनि सताउन थालेको छ।

सुदूरपश्चिमका सबै जिल्लामा डेंगी संक्रमण फैलिरहेको जानकारी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले दिएका छन्। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा डेंगी संक्रमण बढी फैलिएको उनले बताए। ‘सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामध्ये सबैभन्दा बढी डेंगी संक्रमण दार्चुलामा देखिएको छ’, उनले भने।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ र बाजुरा हिमाली जिल्ला हुन्। यी तीनवटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ। उसो त सुदूरपश्चिमका सबै जिल्लामा डेंगीका बिरामी छन्। अध्ययनका क्रममा सुदूरपश्चिमका हिमाली र पहाडी सबै जिल्लामा डेंगी सार्ने लामखुट्टे फेलापरेको जानकारी जोशीले दिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।