Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सर्वोच्चको मुद्दा पेसीमा स्वचालित प्रणाली

प्रविधिमा आधारित हुने भएकाले कर्मचारीले चलखेल गर्न नपाउने

1.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा सोमबारदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन्।

अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ।

पेसी तोक्दा कर्मचारीले आफूखुसी गरेको गुनासो आएपछि स्वचालित प्रणाली सुरु गर्न लागिएको हो। स्वचालित प्रणाली लागु भएपछि महिनौंसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भ्रष्टाचार, अनियमितता रोक्न अदालतलाई प्रविधिमैत्री बनाउन लागिएको बताए। उनका अनुसार मुद्दा दर्ता भैसकेपछि पेसी तोक्दा पनि चलखेल हुने गरेको भन्ने जनगुनासो सम्बोधन गर्न स्वचालित प्रणाली अपनाउन लागिएको हो।

‘न्यायपालिकाभित्रका अनियमितता हटाउन विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्ने भएको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘पेसी तारेख सोमबारदेखि स्वचालित प्रणालीमा जाँदैछ।’ दैनिक सुनुवाइ हुने मुद्दाको पेसी तोक्दा मानव हस्तक्षेप नहुने गरी प्रविधिमा जान थालिएको उनले बताए।

हालसम्म पेसी कर्मचारीले तोक्दै आएका छन्। कर्मचारीमै भर पर्नुपर्ने भएकाले महिनौंसम्म मुद्दा पेसीमा चढ्न नसकेको सेवाग्राहीको गुनासोतर्फ संकेत गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘म प्रविधिमा भरोसा गर्छु। अनियमितता रोक्न यसले मद्दत पुग्नेछ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।