४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


वलम्बु ज्ञानमाला भजनको दोस्रो भाग सार्वजनिक


0
Shares

काठमाडौं, भदौ २१ । नेपालभाषाको वलम्बु ज्ञानमाला भजनको दोस्रो भाग सार्वजनिक गरिएको छ ।

बिहीबार सुमंगल विहारमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी र उपस्थिति अतिथिहरुले ११ ओटा भजनको म्युजिक भिडियो संग्रहित डीभीडी सार्वजनिक गरेका हुन् ।

वरिष्ठ संगीतज्ञ भीमबहादुर नकःमिको एकल रचनामा उक्त भजनसंग्रह सिर्जना भएको हो ।

डीभीडी सार्वजनिक गर्दै शताब्दीपुरुष जोशीले रचनाकार नकःमि बहुप्रतिभाका धनी व्यक्तित्व रहेको उल्लेख गरे ।

कवि दुर्गालाल श्रेष्ठले रचनाकार नकःमिको मनमा भक्तिको बास रहेको उल्लेख गरे ।

भजनसंग्रहमा मदनकृष्ण श्रेष्ठ, जुजुकाजी रन्जित, संगीता प्रधान, धनबहादुर गोपाली, रमणा श्रेष्ठ, नीशा देसार, दीपेन्द्र थापा, सिर्जना श्रेष्ठ, सरिता शाही, आशा नकःमि, मञ्जु नकःमि, मोहन शाक्य, जमुना शाक्य, शोभा शाक्य, रेनु शाक्य र सुश्रीता शाक्यले स्वर दिएका छन् । मनराजा नकःमि, मञ्जु नकःमि र रचनाकार स्वयंको संगीत रहेको छ ।

वीरेन शाक्य, सन्तोष महर्जन, विनोदकुमार भुजेल, हरिशरण सायमिको संगीत संयोजन रहेको छ ।

सबिन महर्जन र बाबुकाजी जल्मिले छायांकन गरेको म्यूजिक भिडियो जितेन्द्र महर्जनले सम्पादन गरेका हुन् । सुरेन्द्र महर्जन र मनराजा नकःमिको निर्देशन रहेको छ ।

रचनाकार नकःमि चलचित्र नायिका आशिष्मा नकर्मीको बाजे हुन् ।

कार्यक्रममा पैञारत्नले भन्तेले भजनसंग्रहकाबारे आफ्नो धारणा राखेका थिए । वरिष्ठ पत्रकार विजयरत्न असंबरेले भजनसंग्रहको समीक्षा गरेका थिए ।

ज्ञानमाला भजन संरक्षण र प्रचारमा सक्रिय गायिका रमणा श्रेष्ठले रचनाकार नकःमिको व्यक्तित्वमा प्रकाश पारेकी थिइन् ।

पैञासार भन्तेबाट शील प्रदान गरिएको उक्त कार्यक्रम रचनाकार नकःमिको छोरा वरिष्ठ संगीतकार मनराजा नकःमिको सभापतित्वमा भएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शुभकामना मन्तव्य र भजनसंग्रह प्रस्तुतकर्ता मोहन शाक्यले स्वागत मन्तव्य राखेका थिए ।