Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


क्यान्टोनमेन्टमा भ्रष्टाचार नभई डकैती भएको एमाले महासचिव पोखरेलको आरोप


910
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको लडाकु शिविरमा (क्यान्टोनमेन्ट) भएको अनियमिततालाई राज्यको ढुकुटीमा डकैती भएको बताउनु भएको छ ।

माओवादी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु शिविरमा भ्रष्टाचार प्रमाणीत भए जेल जान तयार रहेको बताएको प्रसंगमा आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले लडाकु शिविरमा भ्रष्टाचार नभई राज्य ढुकुकटीमा लूट र डकैती भएको भन्नुभएको हो ।

पोखरेलले फेसबुकमार्फत पोष्ट सार्वजनिक गर्दै, ‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो त राज्य ढुकुटीमाथिको खुलेआम लुट थियो, डकैती थियो ।’ भन्दै स्टाटस लेख्नु भएको छ । पोखरलले माओवादीका सुप्रिमोहरुलाई त्यो खालको खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्ला र भन्ने लागेको हुनसक्ने पनि लेख्नुभएको छ ।

सात आठ हजारको संख्यामा रहेका लडाकुलाई बढाएर ३२–३३ हजार पुप्याएको भनेर दाहाल आफैंले बोलेको भिडियो सुरक्षित रहेको भन्दै पोखरेलले नेपाली जनताले शान्तिका नाममा अहिलेसम्म सहेको बताउनु भएको छ ।

लडाकुलाई दिएको रकम तिनका कमाण्डरले लुटेर क–कसलाई बुझाए भन्ने खोजी गर्दा कोही पनि लुक्न सक्दैनन, पोखरेलको भनाइ छ । प्रतिनिधिसभामा हिजो सांसदसँग प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री दाहालले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको समेत बताउनु भएको थियो ।