Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाल पाकिस्तानसँग पराजित


0
Shares

काठमाडौं, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो ।

खेलको ३४औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । विमल घर्तीमगरले बराबरी गोल फर्काएका थिए ।

तर, खेलको अन्तिम मिनेटमा पाकिस्तानले पुनः गोल हानेपछि नेपाल २–१ ले पराजित हुनपुग्यो ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा दक्षिण एसियाली देशका सात टिम सहभागी छन् । नेपाली टिम उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

नेपाल फिफा वरीयतामा १६१औं स्थानमा छ भने पाकिस्तान २०१औं स्थानमा रहेको छ ।

नेपाल रहेको समूह ‘ए’मा बंगलदेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’मा भने भारत, श्रीलंका र माल्दिभ्स छन् ।

अब नेपालले बिहीबार भुटानको सामना गर्नेछ भने शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन ।

साफ च्याम्पियनसिपमा नेपालले खेलका २८ खेलमध्ये ८ खेलमात्र जितेको छ । ४ खेल बराबरीमा सकाएको नेपालले १६ खेलमा हार व्यहोरेको छ ।

नेपालले साफ च्याम्पियनसिप फुटबलमा अहिलेसम्म कुल ३३ गोल गर्दा ४५ गोल खाएको छ ।