
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्य पुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका ३ हजार ७ सय थान पुस्तक आइपुगेको हाे । पुस्तक बिक्रि वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले जनाएको छ ।
अहिले पाठ्य सामाग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रि वितरण थालिने महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी बताउनुभयो । उहाँका अनुसार बुधबारदेखि विद्यालयले महासंघमा पैसा जम्मा गरेर आवश्यकताअनुसार पाठ्य पुस्तक लैजान सक्नेछन् ।
यहाँका स्टेशनरी व्यवसायीले संयुक्त रुपमा पुस्तक खरिद गरेर ल्याएका हुन् । विगतदेखि नै सामुदायिक विद्यालयका पुस्तक ल्याएर उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमार्फत बिक्रि वितरण गर्दै आएका छन् । बिक्रि वितरणको संयोजन महासंघले नै गर्दै आएको हो ।
अघिल्लो शैक्षिक सत्रमा बिक्रि वितरण भएको संख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासंघले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्रि वितरण गर्ने बताइएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेको र खरिद गर्ने तथा ल्याउने प्रक्रिया पनि समयमा नै भएकाले चाँडै पाठ्य पुस्तक आएको महासंघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्