Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


अस्ताइन् कृष्णा ताम्राकार : टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग


1.5k
Shares

काठमाडौं । ‘विशेष गरी समाचार वाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज–यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्,’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बिहानै ट्विट गरे, ‘उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना ।’ खड्काले भनेजस्तै ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ भन्ने आवाज बिहीबार रातिबाट बन्द भएको छ ।

अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत उनको ८६ वर्षको उमेरमा बिहीबार राति १० बजे निधनसँगै रेडियो क्षेत्रको मजबुत तरंग टुटेको छ । उनको आवाज सुन्दै हुर्केकाहरू उनको निधनको खबरले स्मृतिमा डुबेका छन् ।

‘उतिबेला हाम्रा लागि कलाकार भने पनि नायिका भने पनि रेडियोमा बोल्नेहरू नै हुन्थे,’ काठमाडौं गोलढुंगाका ७४ वर्षीय नानीराम ढुंगानाले भने, ‘आफूलाई मन परेको आवाजकी धनीको निधन भएको खबरले दुःख लागेको छ ।’ उतिबेला घरमा खाना खाने बेलादेखि गोठालो जाँदासम्म रेडियोमा उनकै आवाजमा रमाउने गरेको उनले बताए ।

काभ्रेको बनेपामा जन्मिएकी ताम्राकार रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचक हुन् । २०१८ जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी उनले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । ताम्राकारले सुरुमा हिन्दी र पछि नेपाली भाषामा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले ‘नासो’, ‘हाम्रो देशको माटो’सँगै वन तथा वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।