Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


युएस ओपनमा आफ्नै दिदीलाई पराजित गरिन् सेरेनाले


0
Shares

न्युयोर्क, भदौ १६ । युएस ओपन टेनिसको महिला एकलतर्फ अमेरिकाका सेरेना र भेनस विलियम्स दिदीबहिनीबीचको खेलमा बहिनी सेरेनाले बाजी मारेकी छन् ।

तेस्रो चरणको खेलमा दिदीबहिनी आमनेसामने हुँदा बहिनी सेरेना विलियम्सले दिदी भेनस विलियम्सलाई पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेकी छन् । न्युयोर्कमा भएको खेलमा ३६ वर्षकी सेरेनाले ३८ वर्षकी भेनसलाई ६–१ र ६–२ को सेटमा पराजित गरेकी हुन् ।

विलियम्स दिदीबहिनीबीच यो ३० औँ प्रतिस्पर्धात्मक भेट थियो । २३ पटक ग्राण्डस्लाम उपाधि जितेकी सेरेनाले अन्तिम १६ मा इस्टोनियाकी काइए कानिपीसँग खेल्ने छिन् । ३३ वर्षकी कानिपीले पहिलो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन् ।

सेरेनाले छोरी जन्माएपछि खेलमा फर्किए यताको आफ्नो उत्कृष्ट खेल रहेको बताइन् । सेरेनाले गत सेप्टेम्बरमा छोरी जन्माएकी थिइन् ।