Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


नेपालले शनिबार मलेसियासँग खेल्दै


0
Shares

काठमाडौं, भदौ १५ । एसिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत् नेपालले तेस्रो खेल शनिबार आयोजक मलेसियासँग खेल्दैछ ।

जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अंकविहीन छ ।

नेपाल ओमनसँग ७ विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएई)सँग ७८ रनले पराजित भइसकेको छ ।

दुई खेल खेलको मलेसियाले २ अंक जोडेको छ । मलेसियाले हङकङलाई ३ विकेटले हराएको थियो भने ओमनसँग २ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई ४ अंकसहित शीर्ष स्थानमा छ । युएईले सिंगापुर र नेपाललाई पराजित गरेको थियो ।

ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक/एक खेलमा विजयी हङकङ र मलेसिया २/२ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौं तथा सिंगापुर छैटौं स्थानमा छन् ।

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन–२ मा छ । ओमन र सिंगापुर डिभिजन–३ मा तथा मलेसिया डिभिजन–४ मा छ ।

छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एसिया कपमा सहभागि हुन पाउनेछ ।

एसिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ । रासस