
काठमाडौं, भदौ १५ । वरिष्ठ कलाकार स्व. हरिप्रसाद रिमालको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झन्डा ओढाएका थिए ।
स्व. रिमाललाई उनका ज्येष्ठ सुपुत्र अरुणले दागबत्ती दिएको चलचित्र निर्देशक तथा अभिनेता सम्राट सापकोटाले बताए ।
अन्त्येष्टिकाक्रममा पशुपति आर्यघाटमा पुराना तथा नयाँ पुस्ताका कलाकार, संगीतकर्मी, चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो ।
स्व. रिमालको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोकसलामी अर्पण गरेको थियो ।
रिमालको ९२ वर्षको उमेरमा शुक्रबार बिहान उनकै निवासमा निधन भएको हो ।
रिमालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मध्याह्नसम्म नयाँबानेश्वरस्थित निवासमा राखिएको थियो ।
नाटककार बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’मा १४ वर्षको उमेरमा अभिनय सुरु गरेका रिमालले चलचित्र ‘आमा’बाट नेपाली चलचित्रमा अभियान यात्रा सुरु गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्