४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


हरिप्रसाद रिमालः इतिहास कोरेको त्यो गीत…


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, भदौ १५ । नेपाली नाट्यजगतमा अतुलनीय योगदान पुर्‍याएका हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान घरमै निधन भएका रिमालको शुक्रबारै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो ।

रिमालको निधन नेपाली नाट्य, गायन र सांगीतिक क्षेत्रका लागि अपूरणीय क्षति हो । यद्यपि, उनले यस क्षेत्रमा पुर्‍याएको योगदान भने अविस्मरणीय रहिरहने छ ।

नेपाली आधुनिक नाटकलाई नयाँ उचाइमा पुर्‍याउन नाट्यकार हरिप्रसाद रिमालले जीवनपर्यन्त अथक परिश्रम गरे ।

रेडियो नेपालको पहिलो गायकसमेत रहेका उनी नाट्य क्षेत्रमा प्रवेश गरेर पनि गायनको यात्रालाई निरन्तर कायम राखे । अब उनले गाएका तीनै सयौं गीत कालजयी बनेर हाम्राबीचमा रहिरहनेछ ।

वि.सं. १९८२ असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमालले २००७ साल चैत २० गते रेडियो नेपालबाट प्रत्यक्ष ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ’ बोलको गीत गाएका थिए ।

दुर्भाग्य ! प्रविधिले साथ नदिँदा इतिहास कोरेको उक्त गीत भने रेकर्डमै रहेन ।

प्रविधि र रिमालबीच भेट नभए पनि ‘फगत् एक नजरमा…’, ‘बिनाबादल असिना पर्दैन…’, ‘पवनले फूललाई क्यै भन्यो कि क्या…’, ‘आँसु बहाउ तिमी उता…’, ‘न त सम्झनु न त बिर्सनु…’, ‘जाउँ हामी बादल पारि…’लगायत गीत कालजयी छन् । अमर छन् ।

वि.सं. १९९५ सालमा बालकृष्ण समको ‘प्रल्हाद’ नाटकको माध्यमबाट रिमाल नेपाली रंगमञ्चको क्षेत्रमा भित्रिएका थिए ।

रिमालले जीवनको उर्वर ४५ वर्ष रेडियो नेपालमै बिताए । यस अवधिभर सयौं गीत गाउनुका साथै करिब दुई हजार रेडियो नाटकको निर्देशन गरे । उनका शिष्य जयनेन्द्र लामा रिमालको निधन अपूरणीय क्षति मान्छन् ।

आफ्नो अग्रसरतामा ‘हरिप्रसाद–कल्याणी रिमाल नाट्य–संगीत प्रतिष्ठान’ खोलेका रिमालले थुप्रै स्रष्टा जन्माएकामात्र होइन, उक्त प्रतिष्ठानबाट वर्षेनि नाट्य र संगीत क्षेत्रमा लागेका कलाकर्मीलाई सम्मान पनि गरिँदै आएको छ ।

रिमालले नेपाली नाट्य र संगीत क्षेत्रको श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै इमेज ग्रुप अफ कम्पनीज्ले ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानसमेत गरेको थियो ।