Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


रेडस्टार पाथीभरा गोल्डकपको फाइनलमा


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, भदौ १४ । रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्दै रेडस्टार उपाधिनजिक पुगेको हो ।

खेलको निर्धारित् र अतिरिक्त समयमासमेत १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा रेडस्टारका पदम लामा, विवेक पौडेल, भूषण लिम्बू र कर्ण लिम्बूले गोल गरे । राष्ट्रिय जागृतिका रमेश राजवंशी, उमेश कार्की र रोमन लिम्बूलेमात्र गोल गर्न सके ।

यसअघि, खेल सुरु भएको छैटौं मिनेटमै राष्ट्रिय जागृतिका तीर्थ बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८४औं मिनेटमा रेडस्टारका निशान लिम्बूले गोल गर्दै बराबरी गरेका थिए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता चर्च ब्वाइज काठमाडौं र न्यू स्टार झापा भिड्नेछन् ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको भानुजन माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उपाधि भिडन्त यही भदौ १६ गते हुने आयोजकले जनाएको छ ।